गोरखा । उत्तरी गोरखाका धार्चे गाउँपालिका–७, खानीगाउँका ३२ घर पहिराेको उच्च जोखिममा परेको छ । पहिराका कारण बस्ती भएको जमिन चिराचिरा परेपछि घरहरु उच्च जोखिममा परेको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् । पहिराले बस्ती माथिका जमिन चिरिएको र बस्ती मुनिका जमिन खाल्डो पर्दै गएपछि बस्ती पुरै जोखिममा परेको उहाँको भनाई छ ।
‘गोरखा भुकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको थियोे, उपाध्यक्ष गुरुङले भनिन, ‘केहीदिन अघि परेको निरन्तरको बर्षाले अहिले बस्ती झनै जोखिमपूर्ण बनेको छ ।’ बर्षाले जमिन भासिँदै गएपछि अधिकांस घरको भित्रि भाग चिरा पर्न थालेको छ । ‘घरको जग समेत तलतल सर्दै गएको छ, उनले भनिने, ‘घर भित्र एक बित्तासम्म लामो चिरा परेपछि बस्नका लागि समेत डरमर्दो अबस्था बनेको छ ।’
पहिराका जोखिम बढेपछि पिडित परिवारहरु घरमा बस्न सक्ने अबस्था समेत नरहेको उनले बताइन । ‘जुन घर भित्र पसेपनि अत्यास लाग्ने अबस्था छ, उपाध्यक्ष गुरुङले भनिन, ‘रातबस्नका लागि छिमेकीको घरमा गएर बास माग्नुपर्ने बाध्यता यहाँको बासिन्दाको रहेको छ ।’ पहिराको त्रासले स्थानीयबासीहरु साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर छिमेकी गाउँका आफन्तकोमा जाने गरेका छन् ।
त्यसबाहेक केही परिवार भने नजिकै रहेको विद्यालयमा रात काट्न बाध्य भएको उपाध्यक्ष गुरुङले जानकारी दिइन ।‘समस्या परेका परिवारहरु मध्ये ३ परिवार बृद्धा एकल महिला पनि रहनुभएको छ, उनले भनिन, ‘उहाँहरुलाई त समस्या परिहाल्यो भने भाग्न सक्ने अबस्थाको पनि हुनुहुन्न, पहिरोको पीरले अत्यासमा दिन कटाई रहनु भएको छ ।’
बस्ती अत्यन्तै जोखिमपूर्ण रहेकाले घरहरु खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रह समेत गरिसकेको छ । पहिरोले खानीगाउँका ३२ घरघुरीका १०५ जना प्रभावित भएका छन् ।
(भिडियाे)
प्रतिक्रिया