गोरखा, २४ चैत । गोरखाका चार पालिकाबीच अन्तर स्थानीय तह अन्तरक्रिया तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। सहिद लखन गाउँपालिकाको आयोजनामा विहिबार गोरखा नगरपालिका, भिमसेनथापा, गण्डकी र शहिद लखन गाउँपालिकाबीच अन्तर स्थानीय तह अन्तरक्रिया तथा असल अभ्यास आदान प्रदान कार्यक्रम भएको हो ।
अन्तरपालिका सम्बन्ध बिस्तार गर्न एक अर्कोले गरेका असल अभ्यसको समिक्षा तथा अनुशरण गर्न कमि कमजोरी भएमा सच्चिएर अगाडी बढ्न तथा सामूहिक छलफल गर्ने उद्देश्यले बैठक राखिएको गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरले जानकारी दिए। अन्तरक्रिया कार्यक्रममा १० बुँदे घोषणा पत्र जारी गरिएको छ ।
स्थानीय तहभित्र कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरुलाई सफल तथा प्रभावकारी बनाउने र समान प्रकृतिका योजना तथा कार्यक्रमहरुमा एकरुपता कायम गर्न असल अभ्यासको आदानप्रदान गर्ने, स्थानीय तहहरुमा रहेका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पूरातात्विक स्थलहरु तथा मठमन्दिरहरुको अन्तर स्थानीय तह प्रचारप्रसार, जानकारी एवं सूचना प्रवाह गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन साझेदारी, समन्वय तथा सहयोग गरी आन्तरिक आय वृद्धि गर्न सामुहिक पहल गर्ने र प्राकृतिक स्रोत, साधन तथा वस्तुहरुको उपयोग, संरक्षण, लाभलागत अनुमान तथा प्राप्तिमा समान अवधारणाको विकास गर्ने दश बुँदे घोषणा पत्रमा उल्लेख गरिएको छ ।
यस्तै, स्थानीय तहभित्र हुनसक्ने सुरक्षा संकट, विपद् जस्ता प्राकृतिक तथा मानव निर्मित प्रकोपहरुको रोकथाम तथा न्यूनीकरणका लागि सामुहिक पहल गर्ने र अप्ठ्यारो तथा समस्यामा परेको स्थानीय तहलाई अन्य स्थानीय तहले आवश्यक सहयोग गर्ने, संस्थागत तथा मावन संशाधन क्षमता विकासका लागि एक आपसमा समन्वय र सहकार्य गर्ने र विवाद समाधान, मिलापत्र तथा न्यायिक निरुपणसँग सम्बन्धित समस्याहरु समाधानका लागि अन्तर स्थानीय तह समन्वय, सहकार्य र सहयोग आदानप्रदान गरी समन्यायिक समाज निर्माणमा साझेदारी गर्ने घोषणा पत्रमा भनिएको छ ।
चार वटै स्थानीय तहको सम्भाव्यताको अध्ययन गरी अन्तरस्थानीय तह सञ्चालन हुन सक्ने तुलनात्मक लाभका उद्योग तथा योजनाहरु सञ्चालन गर्न पहल गर्ने पनि वैठकले निर्णय गरेको छ ।
संविधान प्रदत्त मौलिक हक तथा अधिकारहरुको प्रभावकारी प्रयोग, संरक्षण र सम्वद्र्धन गर्दै थप अधिकार प्राप्त गर्न संस्थागत रुपमा सबैले सामुहिक प्रयत्न गर्ने र स्थानीय तहको अधिकार क्षेत्रमा प्रत्यक्ष तथा परोक्ष प्रभाव पर्ने वा कुनै दायित्व सिर्जना हुने विषयहरुसँग संघ तथा प्रदेशले कानून निर्माण गर्दा अनिवार्य रुपमा स्थानीय तहसँग समन्वय तथा परामर्श गर्ने वातावरण निर्माणका लागि सामुहिक पहल गर्ने समेत घोषणा पत्रमा भनिएको छ ।
शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना, भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, पालिकाका उप्रमुखहरु, जिल्ला समन्वय समितिका अधिकारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया