रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन स्वीकृति दिएको छ ।

यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिइनेछ । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले बुधबार यो स्वीकृति दिएकी हुन् ।

महान्यायाधिवक्ता बरालले भनिन्, ‘सहकारी ठगीको मुद्दा यथावत् हो । संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृति दिइएको हो । यसलाई मुद्दा फिर्ता लिएको रूपमा बुझ्न हुँदैन ।’

उनका अनुसार चार जिल्लामा चलिरहेका मुद्दामा आरोपपत्र संशोधन गर्न स्वीकृति दिइएको हो । कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ । रुपन्देही, काठमाडौं र पर्सामा पनि संगठित अपराधका मुद्दा फिर्ता लिइनेछ ।

चितवन जिल्ला अदालतमा भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै मुद्दा नचलेकाले अभियोगपत्र संशोधन गर्ने निर्णय नभएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने भएको छ । यसअघि विभिन्न सहकारी संस्थामा भएको ठगी प्रकरणमा लामिछानेमाथि अभियोग दायर भएको थियो ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने निर्णयले उनको कानुनी लडाइँमा केही राहत मिल्ने देखिएको छ ।

प्रतिक्रिया

TOP