श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर २८ बल अगावै पछ्यायो ।

अफगानिस्तानको यो लगातार दोस्रो र समग्रमा प्रतियोगिताको तेस्रो जीत हो । यसअघि अफगानिस्तानले पाकिस्तानलाई आठ विकेट र इंग्ल्याण्डलाई ६९ रनले हराएको थियो ।

सोमबार श्रीलंकाविरुद्ध पहिलो ओभरमा नै रहमानुल्लाह गुरबाजलाई शून्य रनमा गुमाए पनि अफगानिस्तानले त्यसपछि आफूलाई सम्हाल्दै विजय लक्ष्यतर्फ अघि बढेको थियो । रहमत शाहले ६२ रन तथा इब्राहिम जादरानले ३९ रन बनाउँदै अफगानिस्तानको पाली सम्हालेका थिए ।

त्यसपछि कप्तान हस्मतुल्लाह शाहिदीले नटआउट रहँदै ५८ तथा अजमतुल्लाह ओमारजाईले नटआउट रहँदै ७३ रन बनाएर टोलीलाई जीतसम्म डोर्‍याए । श्रीलंकाका लागि दिल्सान मधुशंकाले २ तथा कासुन रजिथाले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमाा सबै विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो । श्रीलंकाका ब्याट्सम्यानहरुले राम्रो सुरुवात गरे पनि कसैले पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् ।

ओपनर पाथुम निशांकाले सर्वाधिक ४६ रन बनाए । त्यस्तै, कप्तान कुशल मेन्डिसले ३९ बनाउँदा सदिरा समराविक्रमाले ३६ तथा महिस थिकसानाले २९ रनको योगदान दिए ।

श्रीलंकालाई सस्तोमै समेट्न अफगानिस्तानका लागि फजलहक फारुकीले ४ तथा मुजबीउर रहमानले २ विकेट लिए । जीतसँगै ६ खेलबाट ६ अंक बटुल्दै अफगानिस्तान अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

TOP