इतिहासको प्रवद्र्धन गर्न गोरखाबाट सेनाले थाल्यो धादिङ्ग–नुवाकोट हुँदै काठमाण्डौंसम्मको पदयात्रा

इतिहासको प्रवद्र्धन गर्न गोरखाबाट सेनाले थाल्यो धादिङ्ग–नुवाकोट हुँदै काठमाण्डौंसम्मको पदयात्रा

गोरखा । नेपाल र नेपाली सेनाको इतिहासको प्रवद्र्धन गर्ने उद्देस्य सहित शनिबार देखि गोरखाबाट नेपाली सेनाले नेपाल एकिकरणका क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको पदयात्रा सुरु गरेको छ ।

पदयात्रामा निस्किएको टोलीलाई नेपाली सेनाका पश्चिम पृतनापति सन्तोष पौडेलले राष्ट्रिय झण्डा र टर्च लाइट हस्तान्तरण गरेर बिदाई गरेको हो । गोरखा दरवारको पाटाङ्गीनीबाट सेनाका अधिकृतको नेतृत्वमा ३० जनाको टोली पदयात्रामा निस्किएको नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी असोककुमार क्षेत्रीले जानकारी दिए ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्दा प्रयोग गरेका पदमार्गको प्रवद्र्धनका लागि सेनाले पदयात्राको थालनी गरेको उनको भनाई छ ।

नेपाली सेना श्री रिपुमर्दन गण, गोरखा नगरपालिका तथा भिमसेनथापा गाँउपालिकाको संयुक्त आयोजनामा पदयात्राको थालनी गरिएको प्रमुख सेनानी क्षेत्रीले बताए ।

गोरखाबाट पदयात्रामा निस्किएको टोली आज गोरखा नगरपालिकाको फिनाम, भीमसेनथापा गाउँपालिकाको बोर्लाङ, चण्डीथान, महादेवटार हुँदै घाटवेसीसम्म पुगेर धादिङ स्थित नेपाली सेनाको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ ।

पदयात्रामा श्री रिपुमर्दन गण र गोरखा दरवार सुरक्षार्थ खट्टिएका श्री शार्दुलजंग गुल्मका फौजहरु खटिएका छन् । उक्त फौजले धादिङ्ग जिल्लामा तैनाथ श्री शिवदल गणलाई नेपालको झण्डाहरु र टर्च हस्तान्तरण गर्ने प्रमुख सेनानी क्षेत्रीले बताए।

त्यस्तै धादिङ्ग जिल्लामा तैनाथ श्री शिवदल गणले नुवाकोट जिल्लामा तैनाथ श्री जबर जंग गणलाई र श्री जबरजंग गणले हनुमान ढोकामा आयोजना हुने ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका लागि पौष २६ गते काठमाण्डौ नागार्जुन स्थित श्री कालीध्वज गणलाई राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गर्नेछ ।

पदयात्रा शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर, भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा अक्कल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतको पनि सहभागिता रहेको थियो ।

नेपाली सेनाले पछिल्लो समय ऐतिहासिक गढी, किल्ला, दरवार तथा एकीकरणको दौरान प्रयोग भएका मार्गहरु पहिचान गरी संरक्षण, सम्र्बद्धन र विकास गर्ने योजना अनुसार गोरखाबाट नेपाल एकिकरणका क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गमा पदयात्रा गर्दै आएको छ ।

प्रतिक्रिया

TOP