गोरखा बोर्लाङ्गको भिमकुल साकोसमा नगद चोरी

  • प्रकाशित मिति : July 10, 2021
  • विमल श्रेष्ठ

काठमाण्डौं, २६ असार । गोरखाको बोर्लाङ्ग स्थित भिमकुल बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ । भिमसने थापा गाउँपालीका ७ बोर्लाङ्गमा रहेको उक्त सहकारी संस्थामा गएराती अज्ञात समुहले चोरी गरेको बोर्लाङ्ग व्यवसायी संघ अध्यक्ष विपिन श्रेष्ठले गण्डकी डायरीलाई जानकारी दिए ।

सिसिटिभि फुटेजमा देखिए अनुसार चोरीमा दुई जना व्यक्तिको संलग्नता रहेको देखिएको उनले बताए । उनिहरुले सेतो रंगको कपडा र टोपि मास्क लगाएकाले पहिचान गर्न सकिने अवस्था नरहेको श्रेष्ठको भनाई छ ।

उनिहरु च्यानल गेटको ताला सहित प्रवेशद्धार र भित्र रहेका चार वटा ढोका फोडेर पैसा रहेको लकर सम्म पुगेका थिए । रातीको समयमा सहकारी वरिपरी धेरै पटक ट्याक्टर ओहोर दोहोर गरेको स्थानियहरुले बताएका छन् । । ढोका फोडेको आावज बाहिर नसुनोस् भन्नका लागी उहिरुले ध्यान भड्काउनका लागी ट्याक्टर ओहोर दोहोर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

उनिहरुले लकर फोडेर करिब रु ३२ लाख बराबरको नगद चोरी गरेको भिमकुल साकोसका व्यवस्थापक नवराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार अर्को भित्रपट्टि रहेको रु २० लाख नगद भने सुरक्षित रहेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धानका लागी जिल्लाबाट प्रहरी टोली आइरहेको बोर्लाङ्ग प्रहरी चौकीले जनाएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।