गोरखामा ७ सहित गण्डकीमा थप २८३ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति : June 30, 2021
  • गण्डकी डायरी

गोरखा, १६ असार । गण्डकी प्रदेशमा मंगलबार थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा थप २८३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

मंगलबार संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ११९ जना, गोरखाका सात जना, लमजुङका नौ जना, नवलपुरका ४३ जना र स्याङ्गजाका २२ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पर्वतका तीन जना, बागलुङका २९ जना र म्याग्दी जिल्लाका सात जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३५ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ७३० पुगेको छ।

मंगलबार पनि गण्डकीमा पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका तीन जना, म्याग्दीका एक जना र लमजुङका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९४५ पुगेको निर्देशनालयले जनाएको छ ।