टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

  • प्रकाशित मिति : June 21, 2021
  • गण्डकी डायरी

पोखरा । पोखराबाट पर्वत जाने क्रममा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाइकमा सवार पर्वत, मोदी– १ भुकताङ्गेका ३३ बर्षीय बिनोद मल्ल र ४७ वर्षीय भिम बहादुर मल्ल रहेका छन् ।

आज बेलुकी अन्दाजी ५ बजेको समयमा कास्कीको अन्नपूर्ण ३ लक्ष्मी देउराली पत्थर ढुंगा भन्ने स्थानमा पर्वतबाट पोखरा तर्फ आइरहेको प्र–३ – ०१ –००३ क ५१७३ नम्बरको टिप्पर र ग २० प ६०३० नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । त्यसपछि, गम्भीर घाइते हुन पुगेका बाइकमा सवार २ जनालाई उपचारका लागि पोखरा पठाइएको थियो ।

मनिपाल अस्पताल ल्याउनासाथ बिनोदलाई मृत घोषणा गरिएको र अर्का घाइते भिम बहादुर मल्लको उपचारकै क्रममा साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

घटनामा संलग्न टिप्पर चालक सिन्धुपाल्चोक ईन्द्रावती १० घर भएका सुरेश माझीलाई प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिप्रका, कास्की पठाएको छ । असई जयलाल बुढाको नेतृत्वको प्रहरी टोली दुर्घटना लगत्तै घटनास्थल पुगेको थियो ।