गोरखा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढीले मच्चायो वितण्डता

  • प्रकाशित मिति : June 15, 2021
  • गण्डकी डायरी

गोरखा, १ असार । अविरल वर्षापछि आएको बाढीपहिरोले गण्डकी प्रदेशका विभिन्न जिल्लामा क्षति पुगेको छ । मनाङको नासो गाउँपालिका– १, तालगाउँ निरन्तरको वर्षाका कारण डुबानमा परेको छ ।

मस्र्याङ्दी नदी छेउको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परेको स्थानीयले बताएका छन् । बाँकी घर पनि जोखिममा छन् । स्थानीय घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । डुबानको खबरलगत्तै स्थानीयस्तरबाट सुरक्षाकर्मी खटाइसकिएको र अन्य प्रबन्ध मिलाइएको बताएका छन् ।

जिल्ला प्रहरी कार्याल्यका प्रमुख डीएसपी सुवास खड्काले तालस्थित प्रहरी चौकीको टोली र स्थानीय उक्त क्षेत्रको उद्धारमा लागेको बताए । डुबानबाट विद्यालय र वडा कार्यालय पनि प्रभावित भएको छ ।

बाढीले सदरमुकाम चामेस्थित तातोपानी कुन्ड नजिकैको बस्तीमा समेत बाढी पसेको छ । बाढीले सदरमुकाम चामे गाउँपालिका–१, तिमाङ खोलाको बेलिब्रिज बगाएको छ । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृहमा क्षति पुर्‍याएको छ । काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।