सम्भव नेपालले सहयोग गरेको एम्बुलेन्स गोरखाका स्थानीय तहका प्रमुखहरुलाई हस्तान्तरण (भिडियो सहित)

  • प्रकाशित मिति : June 10, 2021
  • गण्डकी डायरी

गोरखा, २६ जेठ । सम्भव नेपाल नामक संस्थाले गोरखाको पाँच स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहयोग गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे र संभव नेपालका संस्थापक अध्यक्ष एंव व्यवसायी प्रेम कुमार खत्रीले बुधवार गोरखामा आयोजित एक कार्यक्रमका बिच स्थानीय तहका प्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । उक्त संस्थाले एम्बुलेन्स सहित करिब एक करोड भन्दा बढिका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

सम्भव नेपालले गोरखा नगरपालिकाको लागि दुईवटा, भीमसने थापा, शहीदलखन, गण्डकी र धार्चे गाउँपालिकाको लागि एक/एक वटा एम्बुलेन्स सहयोग गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए ।

एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्री बुझ्नका लागी गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ्ग कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै गाउ गाउमा जनतालाई सेवा दिन पालिकाहरुलाई उपलब्ध गराएको एम्बुलेन्सले महत्वपूर्ण भुमिका निर्वाह गर्ने कांग्रेसका केन्दि«य सदस्य पाण्डेले बताएका छन् । दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामीहरुले अव छिटो र सहज उपचार पाउन सक्ने भन्दै उहाँले एम्बुलेन्स दुरुपयोग नगर्न र सही सदुपयोगमा ध्यान दिन स्थानीय तहका प्रमुखहरुलाई सुझाव दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खत्रीले आफ्ना गृह जिल्लामा सहयोग गर्न पाउदा खुसी लागेको बताए । कोरोना संक्रमणका बेला दुर्गम गाउँका जनता उपचार सेवा वञ्चित नहुँन भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको उनकाे भनाई छ । अध्यक्ष खत्रीका अनुसार कच्ची सडकमा सहजै आउजाउ गर्न सक्ने, अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामाग्री सुविधा एम्बुलेन्समा रहेको छ ।

कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नगरपालिकालाई उपलब्ध भएको एम्बुलेन्सले कोरोना संक्रमित, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीलाई निशुल्क सेवा दिने बताए ।

संभव नेपालले एम्बुलेन्स सँगै सेनिटाईजर, मास्क, ग्लोब्स, पिपिई, अक्सिमिटर, स्टेचर, एन्टिजिन किट, स्प्रे मेसिन, भिटिएम लगायतका सामग्री पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । आरुघाट र चुमनुब्री गाउँपालिकालाई मास्क र सेनिटाईजर प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, शहिद लखन गाउँपालीका ७ का वडा अध्यक्ष शरण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

गोरखाको आरुघाट गाउँपालिका ८ घर भएका संभव नेपालका अध्यक्ष खत्री नेपाली कांग्रेस गोरखाका महासमिति सदस्य एवं पर्यटन ब्यवशायी समेत हुन् ।

भिडियो हेर्नुहोस्