गोरखामा निषेधाज्ञा उल्लंघन गर्ने व्यवसायी पक्राउ

  • प्रकाशित मिति : June 10, 2021
  • गण्डकी डायरी

गोरखा २६, जेठ । गोरखामा कोरोना दोश्रो लहरको निषेधाज्ञा उल्लंघन गर्ने १७ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोरखा बजार क्षेत्रमा प्रसासनले कोरोना संक्रमणको रोकथामका लागि जारी गरको निषेधाज्ञा उल्लंघन गरेको भन्दै उनिहरुलाई पक्राउ गरि आइन्दा उंल्लघन नगर्ने सर्तमा छोडिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए। पक्राउ पर्नेहरुमा गोरखाका धनाड्य ब्यापारीदेखि चिया पसल संञ्चालकसम्म रहेको उहाँको भनाई छ ।

दोश्रो लहर सुरु भए संगै गोरखामा गएको बैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । चौथो पटक म्याद थप भएपछि असार ५ गतेसम्म बन्द रहनु पर्ने ब्यापार ब्यवसाय संञ्चालन गरेको भन्दै गोरखा बजारबाट १७ जना ब्यापारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर पहिलो पटक सम्झाई बुझाई गरेर छाडीएको डिएपी दाहालले बताउनुभयो ।

पक्राउ पर्नेमा बसपार्क गोरखामा भाडा पसल संञ्चालन गर्दै आएका ब्यापारी एवं प्रहरीका पूर्व रासन ठेकेदार हरिहर श्रेष्ठ समेत रहनु भएको छ । कुनै न कुनै बहानामा दैनिक जसो पसल खोल्ने उहाँहरुलाई सर्व साधारणको गुनासो पछि नियन्त्रणमा लिएर छोडिएको प्रहरी कार्यालयले जनाएको छ ।

यता निषेधाज्ञा उल्लघंन गरेको भन्दै बैंक रोडका ईलेक्ट्रीकल ब्यापारी देखी ग्रिल सञ्चालक, किराना पसले, फलफुल ब्यापारी, मोटर साईकल वर्क सर्पका संञ्चालक तथा स्टेशनरी संञ्चालक र होटल ब्यवसायी समेतलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका मध्ये ९ जना महिला र ८ जना पुरुष रहेका थिए । पक्राउ परेका सबैलाई केही बेर नियन्त्रणमा राखेर अब आईन्दा पसल नखोल्ने सर्तमा छोडिएको प्रहरी कार्यालयले जनाएको छ ।