मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

  • प्रकाशित मिति : June 7, 2021
  • गण्डकी डायरी

कैलाली । नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न  नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश  कमिटीले ह्विप जारी गर्न  संसदीय दललाई निर्देशन दिएको छ । 

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन् । 

माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने भएकाले  एमालेले विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले बताए ।

बाउन्न  प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् । 

एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका  १५ र संस्थापन पक्षमा नौ सदस्य छन् ।  पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे  विश्वास प्राप्त गर्नेछन् ।

कांग्रेसले अहिलेसम्म पक्ष –विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको  छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।