गोरखामा खुकुलो बनाउदै थप ११ दिन लम्बियो निषेधाज्ञा(के गर्न पाइने- के गर्न नपाइने)

  • प्रकाशित मिति : June 7, 2021
  • गण्डकी डायरी

गोरखा, २४ जेठ । गोरखा जिल्लामा खुकुलो बनाउदै थप ११ दिन निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार भोलिराती १२ बजेदेखि थप हुनेगरि पुनः ११ दिन निषेधाज्ञा थप गरिएको हो । जिल्लामा गएको बैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरि यो चौथो पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिए।

जिल्ला भित्र कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेकोले संक्रमण रोकथाम, न्युनिकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको उनले बताए। बैठकले निषेधाज्ञाको अबधीमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दान बिक्री गर्ने पसल र वर्कसप अबदेखि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

त्यस्तै खानेपानी सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधी तथा औषधीजन्य उत्पादन र बिक्रि बितरण लगायत अत्याबश्यक बाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि डिसिसिएमीको आजको बैठकले निर्णय गरेको उनले बताए।सञ्चारकर्मीका हकमा सूचना बिभागले जारी गरेको प्रेसपास र सञ्चारगृहले जारी गरेको परिचय पत्रको आधारमा आवातजावत गर्न सकिने निर्णय गरिएको छ ।

बैठकले बैंक तथा सहकारी बाहेका बित्तिय संस्थाहरु लधुबित्त, बिमा कम्पनीको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी संस्थाको हकमा कार्यालय भित्रैबाट सञ्चालन हुने बाहेकका सेवा बन्द गर्ने तथा बैंक भित्र समेत २ मिटरको भौतिक दुरी अनिबार्य कायम गर्नुपर्ने निर्णय डिसिसिएमसीको बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार बैंकिङ सेवा निषेधाज्ञाको अबधीभर बिहान १० बजेदेखि २ बजेसम्म मात्र खुल्नेछ ।