राजतन्त्र अन्त्यको निर्णयमा कसरी पुगे कोइराला: ज्ञानेन्द्रकै इगोले आयो गणतन्त्र

  • प्रकाशित मिति : June 5, 2021
  • अन्वेषणन्युज

काठमाण्डाै‍ । २३८ वर्ष लामो इतिहास वोकेको राजसंस्था अन्त्य भै मुलुकका गणतन्त्र स्थापना भएको पनि १३ वर्ष नाध्यो । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी मुलुकलाई गणतन्त्र घोषणा गरेको थियो । धेरै मानिसको वुझाई छ, गणतन्त्रको नारालाई माओवादीले उचाईमा पु-याए पनि कार्यान्वयन गर्ने मुख्य पात्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै हुन्।

बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिमा जीवन प्रयन्त प्रतिवद्ध गिरिजावावुले किन राजतन्त्र समाप्त पार्ने कठोर निर्णय कार्यान्वयन गरे त ? यो आलेख यसै विषयमा केन्द्रीत छ ।

जीवनको अन्तिम क्षण कोइराला छोरी सुजाताको मण्डिखाटार स्थित निवासमा सरे । स्वास्थ्य अवस्था दिनानुदिन कमजोर वन्दै थियो। त्यही पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीले उनीसँग अन्तिम भेट गरे। त्यस वेला उनले भनेका थिए–गिरिजावावु इतिहासले मानिसलाई अवसर दिन्छ। अहिले पनि स्थिती तपाईको कन्ट्रोलमा छ। राजतन्त्र फालेर गल्ती भयो, भन्ने व्यहोराको वक्तव्य दिएर देश बिग्रनवाट जोगाउनुस्।

यस प्रसंगमा गिरिजाप्रसादका भतिजा निरञ्जनले लेखकसँग भनेका थिए –तुलसी काकाले भन्नु भएछ, गिरिजावावु म तपाईको दाईको साथी। तपाईको समकक्षी होइन। इतिहासले कुन मानिसलाई कुन वेला अगाडि ल्याई दिन्छ। त्यो बेला त्यस मानिसको महत्व एकदम बढेको हुन्छ । उसको बाेलीबाट होल, सिचुएसन वदलिन सक्छ। त्यही अवस्थामा आज तपाई हुनुहुन्छ। त्यसैले म तपाईलाई एउटा कुरा अनुरोध गर्न भनेर आएको हुँ। अहिले पनि ढिला भएको छैन । एउटा वक्तव्य दिनुस् । राजतन्त्र फालेर गल्ति भयो भन्ने व्यहोराको । अहिले पनि तपाईले कन्ट्रोलमा लिन सक्नुहुन्छ । यो राष्ट्र बचाउनुस्।’

डा. गिरी एकोरो बाेलिएर । कोइरालाले मुखबाट एक शब्द निकालेनन् । यस प्रसंगमा निरञ्जनले लेखकसँग भनेका थिए–मैले डा. गिरीलाई सोधे के भन्नुभयो त काका सानोवुवाले। आई नो हि वाज हेल्प लेस भन्नुभयो। गिरिजावावु केही बाेल्नुभएन रे।’

अन्तिम चरणमा प्रभाकरशमशेर राणालाई राजा ज्ञानेन्द्रसँग कुरा गर्न लगाउनुभयो। उनले दुई चार पटक कुरा गरे। अन्तिम घटना राणाले गिरिजावावुलाई यसरी सुनाएका थिए-गिरिजाबावु म केही गर्न नसक्ने अवस्थामा पुगेँ। राजा र म सोल्टी होटलमा पिउँदै थियौ। राजाले आफ्नो ग्लास पत्थरमा झारेर भने प्रभाकर बरु म यसरी चकनाचुर भएर जान्छु तर यीनीहरुको अगाडी झुक्दिन।

राजतन्त्र फाल्नु अघि कोइरालाले दरवार मिलाउन धेरै प्रयास गरेका हुन्। बेवी किङको प्रस्ताव अघि सारे पछि विराटनगरमा कोइरालाले लेखकसँग भनेका थिए-मैले धेरै प्रयास गरेँ। राजाले मानेनन्। अब म प्रष्ट देखि रहेको छु । राजतन्त्र त रहँदै रहँदैन।’

अन्तिम क्षणसम्म पनि कुनै न कुनै रुपको राजतन्त्र राख्ने कोइरालाको भित्रि चाहना थियो। निरञ्जनले बौद्ध स्थित निवासमा लेखकलाई सुनाएका थिए–राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई कैयौं पटक फोन गरेको मलाई थाहा छ। म पनि उहाँसँगै छु । अन्तिम चरणमा उहाँले प्रभाकरशमशेर राणालाई राजा ज्ञानेन्द्रसँग कुरा गर्न लगाउनुभयो। उनले दुई चार पटक कुरा गरे। अन्तिम घटना राणाले गिरिजावावुलाई यसरी सुनाएका थिए। गिरिजावावु म केही गर्न नसक्ने अवस्थामा पुगे । राजा र म सोल्टी होटलमा पिउँदै थियौं। राजाले आफ्नो ग्लास पत्थरमा झारेर भने प्रभाकर वरु म यसरी चकनाचुर भएर जान्छु तर यीनीहरुको अगाडि झुक्दिन।’

राजाको त्यस्तो सन्देश पाएपछि कोइराला राजतन्त्र जानेमा निश्चिन्त भएका थिए। यस सन्दर्भमा पूर्व मन्त्री डा. रामशरण महतले लेखकसँग भनेका छन्- गिरिजावावु ज्ञानेन्द्र र पारसले गद्दी छोडे वेवी किङ राख्न तयार हुनुहुन्थ्यो। तर त्यसका लागि दरवार तयार भएन। पछि राजालाई कसरी हटाउने भन्ने रणनीति उहाँ आफैले कार्यान्वयन गर्नु भएको थियो । त्यस बारे हामीसँग शेयर गर्नु भएन।’

बीपीले अन्तिम समयमा राजसंस्थालाई विश्वासमा राख्नु भनेका कारण पनि प्रधानमन्त्री कोइराला राजतन्त्र हटाई हाल्ने पक्षमा थिएनन्। यो प्रसंग गिरिजावावुले धेरै पटक लेखकलाई पनि सुनाएका थिए।

राजसंस्थाको अन्त्य भएपछि गिरिजावावु के भन्नुहुन्थ्यो भन्ने मेरो प्रश्नमा निरञ्जनले भनेका थिए–सही गलत के भयो भन्ने लाग्यो होला, त्यस बारे केही भन्नु भएन । तर उहाँ रोक्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। पछि पनि सम्झनुहुन्थ्यो मैले त प्रयास गरेकै हो। उ आफ्नै कारणले गयो। भएन त म के गरुँ।

निरञ्जको भनाइसाग मेल खाने बुझाई गिरिजावावुका अत्यन्त निकट पूर्व आमोदप्रसाद उपाध्यायको पनि छ। उपाध्यायले २०७३ कात्तिक २७ गते धुम्वराहीस्थित आफ्नै निवासमा लेखकसँग भनेका थिए–राजा ज्ञानेन्द्रसँग मेलमिलाप गर्ने कुनै गुञ्जायस नदेखे पछि राजतन्त्रको विकल्प खोज्नु भएको हो। राजाप्रति कठोर बन्दै जानु भएको हो। व्यक्तिगत इगोले पनि धेरै काम गरेको छ। नत्र अन्तिम समयसम्म पनि संवैधानिक राजतन्त्रकै पक्षमा हुनुहुन्थ्यो। ज्ञानेन्द्रले वुद्धि पु-याएको भए अहिलेको अवस्था नआउन सक्थ्यो।’