गोरखाकी एक २० बर्षिय युवतीको बिरगन्ज नाकाबाट उद्धार, २ जना पक्राउ

  • प्रकाशित मिति : June 4, 2021
  • गण्डकी डायरी

गोरखा, २१ जेठ । भारतमा बेच्न लगिएकी गोरखाकी एक युवतीको बिरगन्जबाट उद्धार गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ की २० बर्षिय युवती सहित तनहुँ घर भएकी २२ बर्षकी रिमा गुरुङलाई मंगलबार प्रहरीले उद्धार गरेको आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए।

ति युवतीलाई यहीँ जेठ १६ गते साथी रिमाको घरमा गएकी बेला रिमाकी अमाजु दिदी पर्ने सीता थापा छेत्री भनेर चिनिने सकिना खातुन र भारतीय नागरिक समेत रहेका उनका श्रीमान असुगर सैफीले ललाई फकाई बिक्रिका लागि पठाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनिहरुले एक घन्टा पूजाको लागि कन्या, महिनावारी नभएको, चोखो युवती चाहिएको हुँदा तिमीहरू जाऊ र त्यहाँ गएर पूजा गरे वापत एक लाख पैसा पाउँछौ भनी प्रलोभन देखाई घर परिवारको जानकारी विना रिमा सहित युवतीलाई नेपालगञ्ज पठाएका थिए ।

पहिले वीरगंज गई पैसा लिएर नेपालगन्ज जाने हो भनी तनहुँबाट टिप्परमा चढाई १७ गते वीरगंजमा ल्याई बसपार्कको एक होटेलमा राखेको र त्यहाँ ल्याएर फेरि भारतको बेतिया जान पर्ने भयो भनी अर्को दिन युवतीलाई बिहानै बोर्डर नजिकै पुर्याएका थिए । युवतीले तराईबासी मात्र देखेपछि रिचार्ज किन्ने बहाना बनाई पसलमा गई बेतिया भन्ने ठाउँ कहाँ हो भनी सोध्दा स्थानीयले भारत हो भने पछि आफूहरु जोखिममा रहेको महशुस भई त्यही स्थानीय व्यक्तिलाई आफूहरु आउनुको उद्देश्य बताएर त्यहाँबाट फुत्किन सहयोग माग्दा स्थानीयले पुलिसलाई बोलाइदिएपछि जिल्ला प्रहरी कार्यालयमा पु¥याई अनुसन्धान गरी युवतीलाई आफन्त नेपालको आवधिक गृहमा राखिएको छ ।

निज व्यक्तिहरुले उक्त युवतीहरुलाई पूजा गर्ने बहानामा बेचबिखन गर्न लैजान लागेको कुरा पुष्टि भएको हुँदा सीता थापा छेत्री भनेर चिनिने सकिना खातुन र निजको श्रीमान् असुगर सैफी विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरिएको निर्देशक भट्टराईले जानकारी दिए। अभियक्तहरुले मिलोमतोमा पहिले पनि धेरै युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी भारत पुर्याएको पनि जानकारी आएको उनको भनाई छ ।