एनआईसी एसिया बैंकले कोरोना महामारीमा पनि चर्को ब्याज असुल्दै

  • प्रकाशित मिति : May 4, 2021
  • गण्डकी डायरी

काठमाडौं, १९ वैशाख। एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि ऋणीबाट निकै चर्को ब्याज असुल गरेको पाइएको छ । लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुँदै गरेको छ ।

तर, एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी उडाउँदै बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ । ‘मैले एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट घर कर्जा लिएको थिएँ, ब्याजदर बढेको भनेर चिठ्ठी आएछ’ बैंकका एक ग्राहकले भने, ‘खोलेर हेर्दा १५।७० प्रतिशत पुगेको देखेर म त अचम्ममा परो ।’

कोरोना कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । त्यस्तो प्रमियम दर समान्यतया बैंकहरूले २ प्रतिशत लिने गरेका छन् । एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६।७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ ।

बैंकको ब्याजदर बढ्ने मूख्य कारक नै आधार दर हो । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९।६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गर्ने गरेको हो ।

अहिले लघुवित्तहरुले नै १४ देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्ने गरेका छन् । महामारीको मौका छोपी ‘क’ वर्गको एनआईसी एसिया बैंकले भने यतिधेरै ब्याजदर असुलेर आफूलाई तनाब दिएको ती ऋणी बताउँछन् ।