गोरखाको बोर्लाङ्गमा शनिबार देखि नै लागु हुने गरि एक साताका लागी निषेधाज्ञा जारी (के बन्द, के खुल्ने)

  • प्रकाशित मिति : May 1, 2021
  • गण्डकी डायरी

गोरखा, १८ बैशाख । गोरखाको बोर्लाङ्गमा शनिबार देखि लागु हुने गरि निषेधाज्ञा जारी गरिएको छ । भिमसेन थापा गाऊँपालिकाको वडा नम्वर ७ र ८ बोर्लाङ्ग क्षेत्रमा शनिबार देखि बैशाख २४ गते राति १२ वजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीबाट जारी आदेश अनुसार निषेधाज्ञा शनिवार राति १२ वजेबाट लागू हुनेछ ।

निषेधाज्ञा लागु भए संगै सो क्षेत्रमा निर्माण सामग्री, खाद्यान्न, औषधी, पशुपंक्षी र पशुपंक्षीको दाना बोक्न प्रयोग भएका सवारी साधन, एम्बुलेन्स, अत्यावश्यक प्रयोजनमा प्रयोग भएका सवारी साधन बाहेक अन्य सवारी साधन चल्न नपाउने निषेध आदेशमा उल्लेख छ ।

खाद्यान्न, फलफूल र तरकारी पसलहरु बिहान ७ वजेदेखि ९ वजेसम्म र बेलुका ४ वजेदेखि ६ वजेसम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
सो क्षेत्र भित्र रहेका सरकारी कार्यालय, वित्तिय संस्थाको अत्यावश्यक बाहेकका अन्य सेवाहरु समेत बन्द गर्ने जनाइएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरि निर्माण कार्य भने गर्न पाइने निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले जारी गरेको निषेध आदेशमा उल्लेख छ । हाल सम्म बोर्लाङ्गमा ६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भिमसने थापा गाउँपालीका वडा नं ७ र ८ को संयुक्त बैठकले समेत एक साता दुवै वडा बन्द गर्ने निर्णय गरेको थियो ।