गोरखामा ४३ सहित गण्डकी प्रदेशमा थप २७४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

  • प्रकाशित मिति : April 30, 2021
  • गण्डकी डायरी

गोरखा, १७ बैशाख । पछिल्लो २४ घण्टामा गण्डकीका थप २७४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले कोभिड सम्बन्धी जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ६१८ जनाको नमुना परीक्षण गरिएकोमा थप २७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

गण्डकी प्रदेशमा आज संक्रमण पुष्टि भएका संक्रमित ९ जिल्लाका छन् । जसअनुसार गोरखामा ३३ जना, कास्कीमा १६३ जना, तनहुँमा ७ जना, लमजुङमा १ जनामा कोरोना पाजेटिभ देखिएको हो । त्यस्तै नवलपुरमा १७ जना, स्याङ्गजामा ९ जना, पर्वतमा २ जना, बाग्लुङमा २३ जना र म्याग्दीमा ९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थय निर्देशनालयले जनाएको छ ।

आज गण्डकीमा पुष्टि भएका संक्रमितसंगै कोरोना संक्रमितको कूल संख्या १८ हजार ६ सय ४५ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ७२ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका –६ निवासी ८२ वर्षीया महिला, स्याङ्गजा जिल्ला अर्जुनचौपारी गाउँपालिका –५ निवासी ६२ वर्षीय पुरुष र मुस्ताङ जिल्ला घरपोङ गाउँपालिका –४ निवासी ७२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

आज पुष्टि भएका तीन मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ ।