कोरोना असर : गोरखाका सबै शैक्षिक संस्था बन्द

  • प्रकाशित मिति : April 28, 2021
  • गण्डकी डायरी

गोरखा, १५ बैशाख । गोरखा जिल्ला भित्रका सबै शैक्षिक संस्था बन्द हुने भएको छ । जिल्ला स्तरको कोभिड १९ विपद व्यवस्थापन समितिले जिल्लाका सबै पालिकाका सबै शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गराउने निर्णय गरेको हो।

यसअघि आठवटा पालिकाले मात्र शैक्षिक संस्था बन्द गर्ने बताएको थियो । तर तीन पालिकाले भने बिधालयमा पठनपाठन सञ्चालन गरिरहेका थिए । बुधबार सम्पन्न समितिको बैठकले बिहिबारदेखि कुनै पनि विद्यालय खुल्ला गर्न नपाइने निर्णय गरे संगै अब जिल्लाका सबै स्थानिय तहका बिधालयको पठन पाठन बन्द हुने बताइएको छ ।

त्यस्तै बैठकले जिल्लाका सबै एम्बुलेन्सलाई तयारी अबस्थामा राख्ने, दुईवटा एम्बुलेन्स डिसिसिएमसीको निगरानीमा तयारी अवस्थमा रहने निर्णय गरेको छ ।

सबै पालिकाको केन्द्रमा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, कोरोनाका कारण कसैको निधन भएमा सम्बन्धित पालिकाले नेपाली सेनासँग समन्वय गरी शव व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।