नेपालमा भयावह बन्दै कोरोना : असारसम्म ३ लाख व्यक्ति कोरोना संक्रमित हुने अनुमान

  • प्रकाशित मिति : April 22, 2021
  • गण्डकी डायरी

काठमाण्डौं, ९ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको अवस्था भयावह बन्ने अनुमान गरेको छ । आगामी असार महिनासम्ममा नेपालमा ३ लाख व्यक्तिमा कोरोना भाइरस संक्रमण देखा पर्नसक्ने बताएको छ ।

मन्त्रालयले कोरोना भाइरसको युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको ३ महिनामा संक्रमणदर उच्च हुने देखिएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन्।

उनका अनुसार ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ।

सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए। ‘असारसम्ममा करिब करिब मोडरेज सिनारियोमा पनि हामीसँग ३ लाखको इन्फेक्सन आउँछ भन्ने छ। ३ लाखको इन्फेक्सन आउँदा करिब ६० हजार बिरामीहरु हस्पिटल आउनुपर्छ भन्ने देखिन्छ,’ उनले भने, ’हस्पिटल भित्र आउनुपर्ने ६० हजार बिरामी मध्ये ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने अवस्था पछिल्लो १०÷१५ दिनको डेटा एनलाइसिस गर्दाखेरी देखिन्छ भने १५ हजार बिरामीको लागि क्रिटिकल केयर (आइसियु) चाहिने अवस्था देखिन्छ।

यो बीचमा कोभिडका लागि गरेको ६ सय ४९ आधारभुत अस्पतालमा बेडहरु चलाएको उनले बताए। केही जिल्ला अस्पताललाई स्तरोन्नती गरेको र केही संघीय अस्पतालमा बेड थप्ने काम गरेको उनले बताए।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गरेको छ।