नेपाल पर्यटन बोर्डले बारपाकका फोटोहरुको अनलाइन प्रर्दशनी गर्ने

  • प्रकाशित मिति : April 22, 2021
  • गण्डकी डायरी

काठमाण्डौ, ९ बैशाख । नेपाल पर्यटन बोर्डले नियमितरूपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनीमा यस पटक गोरखाको बारपाकका फोटाहरूको अनलाइन प्रदर्शनी हुने भएको छ । २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रबिन्दु भएका कारणले राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको बारपाक पर्यटकीय गाउँ हो । बारपाकको प्रचार प्रसारसँगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गर्न लागिएको हो ।

आफ्नो तस्बिर प्रदर्शन गर्न चाहनेले फोटो पठाएर सहभागी हुन सकिने र सहभागी हुन चाहनेका लागि फोटो खिच्ने तरिकाबारेको प्रशिक्षणसमेत आयोजना गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताउनुभएको छ । प्रदर्शनी वैशाख १० देखि सुरु हुँदैछ ।

प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई आठ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँको समेत व्यवस्था गरिएको छ ।

प्रकृति, संस्कृतिलगायत आकर्षण समावेश गरिएको फोटोहरूको प्रदर्शनी नेपाल पर्यटन बोर्डले नियमितरूपमा आयोजना गरिरहेको ह्यासट्याग फोटो नेपाल प्रदर्शनी अन्तर्गत बारपाक सुलिकोटको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्व उजागर गर्ने उद्देश्यका ;साथ विभिन्न अनलाइन कार्यक्रमको आयोजना गरिएको छ । यस प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृश्यावलोकन गर्न सकिने स्थल, पर्यटकलाई आकर्षित गर्ने वस्तुका तस्बिर राखिने छन् ।

फोटो प्रदर्शनी वैशाख २२ सम्म हुने र साथै बारपाक सुलिकोट गाउँपालिकाको भर्चुअल टुर कार्यक्रम समेत आयोजना गरिने छ ।