अविश्वास प्रस्ताव छल्न गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

  • प्रकाशित मिति : April 15, 2021
  • गण्डकी डायरी

काठमाण्डौं, २ बैशाख । गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध सम्भवतः बिहीबारै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी विपक्षी दलहरुले गरेपछि त्यसलाई छल्न अधिवेशन हतारमा अन्त्य गरिएको हो ।

नेपाली काँग्रेसको अगुवाइमा माओवादीसहितका दलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको थियो । ​विपक्षीहरुको काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेका थिए ।

मुख्यमन्त्री गुरुङलाई सरकार बचाइराख्न ३ सांसदको आवश्यकता थियो । तर ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएर काँग्रेसलाई नै नयाँ सरकार बनाउन सघाउने नीति लिएको छ ।

जनमोर्चाको सहयोगमा काँग्रेस, माओवादी र जसपाले आजै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तरखरमा थिए । आफू संकटमा परेपछि अधिवेशन हतारमा अन्त्य गरिएको हो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद रहेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । यस्तै नयाँ सरकार बनाउन ३१ सांसदको जरुरी हुन्छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका दीपक मनाङेको साथ गुरुङलाई रहेको भएपनि उनलाई सरकार जोगाइराख्न ३ सांसदको जरुरत रहेपनि समीकरण बदलिँदा उनको सरकार संकटमा परेको छ ।