जनमोर्चाले सर्मथन फिर्ता लिए संगै गण्डकी प्रदेशका मुख्यमन्त्री गूरुङको पद धरापमा

  • प्रकाशित मिति : April 14, 2021
  • गण्डकी डायरी

गोरखा, १ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद धरापमा परेको छ । प्रदेश सरकारलाई समर्थन दिदै आएको राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य जारी गरेर प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको छ ।

केसीद्वारा जारी विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको सन्दर्भमा गण्डकी प्रदेश सरकारलाई समर्थन दिइराख्न जरुरी नदेखिएको उल्लेख छ ।वामपन्थी सरकारको पक्षमा जनमोर्चा भए पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा गण्डकी प्रदेश सरकार ओली सरकारकै छायाँ हुने भएकाले समर्थन फिर्ता गरिएको विज्ञप्तिमा जनाइएको छ ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद छन् । जनमोर्चाको यस्तो निर्णयसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ । माओवादी केन्द्रले यसअघि नै सरकारबाट मन्त्री फिर्ता बोलाएर नयाँ सरकार गठनका लागि छलफल चलाउँदै आएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा विपक्षमा उभिएको अवस्थामा मुख्यमन्त्री गुरुङ अल्पमतमा पर्नेछन् ।