पत्रकारको प्रश्नले रिस उठेपछि प्रधानमन्त्रीले सबै पत्रकारलाई स्यानिटाइजर छ्यापिदिए

  • प्रकाशित मिति : March 11, 2021
  • गण्डकी डायरी

काठमाडौं। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचा एक पटक फेरि पत्रकारहरुसँग गरेको व्यवहारका कारण चर्चामा छन् । पछिल्लो पटक उनले पत्रकारको प्रश्न सुनेपछि रिसाएर पत्रकारहरुलाई स्यानिटाइजर छ्यापिदिएका छन् । एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओचासँग मन्त्रिमण्डल विस्तार, बहालवाला मनत्रीहरुलाई पदबाट हटाएको विषयमा पत्रकारहरुले प्रश्न गरेका थिए । प्रश्न सुनेपछि प्रधानमन्त्री ओचाको पारो चढ्यो । उनी पोडियमबाट झरेर पत्रकारहरु भएको ठाउँमा आए र पत्रकारहरुलाई स्यानिटाइजर छ्यापिदिए ।

प्रत्येक हप्ता हुने नियमित पत्रकार सम्मेलनको क्रममा यो घटना भएको थियो । प्रधानमन्त्री ओचाले पत्रकारका प्रश्नको जवाफ दिइरहेका थिए । त्यही बीचमा एक पत्रकारले मन्त्रिमण्डलको बारेमा प्रश्न सोधेपछि प्रधानमन्त्री रिसाएका थिए । उनले पत्रकारहरुलाई आफ्नो काम गर्न भन्दै मन्त्रिमण्डलको बारे आफूलाई सोच्न छोडिदिन भने । यति भनेपछि उनी पोडियमबाट झरेर पत्रकारहरुलाई स्यानिटाइजर छ्याप्न थाले । यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

प्रयुत चान ओचा थाइल्याण्डको सेना प्रमुख रहिसकेका छन् । २०१४ मा उनले निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेका थिए । ओचाले पत्रकारहरुसँग यस्तो व्यवहार गरेको यो पहिलो पटक होइन । यसअघि पनि पत्रकारको प्रश्नमा रिसाएर उनले पत्रकारलाई केराको बोक्राले हानेका थिए । अहिले थाइल्याण्डमा सरकारको विरोधमा प्रदर्शन समेत भइरहेको छ ।