तनहुँ देवघाटका महिला श्रीमान् बोकेर दौडिए

  • प्रकाशित मिति : March 8, 2021
  • गण्डकी डायरी

तनहुँ, २४ फागुन । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिता आयोजना गरिएको छ ।

जोडी दौड प्रतियोगितामा विष्णु अधिकारीले पहिलो उपाधि हात पारेकी छन् । आफ्ना श्रीमान् पदम अधिकारीले बुइम बोकेर सुइकुच्चा दौडेकी विष्णुले अन्य प्रतिष्पर्धीले भन्दा निर्धारित दुरी छोटो समयमा नै पूरा गरेकी थिइन ।

प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले जानकारी दिइन् । प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

सुन्दा प्रतियोगिता नौलो खालको लागेपनि शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्ष थापाले बताइन । थापाका अनुसार प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।