एक करोडमा जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै १३ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

  • प्रकाशित मिति : March 6, 2021
  • गण्डकी डायरी

पोखरा । पोखरामा जबरजस्ती करणीको मुद्दा मिलाईदिने भन्दै मोटो रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई प्रहरी प्रशासनसँग राम्रो सम्बन्ध भएको बताउदै छुटाइदिने आश्वासन दिएर १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कास्कीले २ जनालाई पक्राउ गरेको हो ।

ठगी गरेको आरोपमा पोखरा–५ मालेपाटनका सूर्यलाल खड्का र धादिङ घर भई हाल पोखरा–२५ हेम्जा बस्दै आएका कमानबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रशासनसँग सेटिङमा एक करोड रुपैयाँ छुटाइदिने भनी किस्ता वापत १२ लाखको चेक र एक लाख १० हजार रुपैयाँ नगद लिएको आरोपमा २ जनालाई पक्राउ गरेको प्रवक्ता हमालले बताए ।

रकम ठगेर फरार रहेका उनीहरुलाई प्रहरीले पोखरास्थित राष्ट्रबैक चोकमा रहेको एक खाजा घरबाट बुधबार साँझ पक्राउ गरेको थियो । प्रहरीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट कामना सेवा विकास बैंकका ६÷६ लाखका २ वटा चेक, अन्य बैंकका चेक तथा भौचरहरु, ४ थान मोवाइल समेत बरामद गरेको जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरु दुबैलाई ठगी, विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।