मोटरसाइकल चोरी गर्ने लमजुङका एक युवक गोरखाबाट पक्राउ

  • प्रकाशित मिति : January 29, 2021
  • गण्डकी डायरी

गोरखा, १६ माघ । गोरखामा चोरी भएको मोटरसाइकल सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका १ का रमेश भट्टराई रहेका छन् । उनले २२० सिसिको दुई वटा पल्सर मोटरसाइकल चोरी गरेर फरार भएका थिए ।

प्रदेश ३–०२–००२ प ६८८६ नम्बरको मोटरसाइकल चढेर गएका उनी गत सोमबार पालुङ्टारमा प्रहरी चेकजाँचमा परेका थिए । भट्टराईले उक्त मोटरसाइकल धादिङको गजुरी गाउँपालिका २ को मलेखुबाट चोरी गरेर ल्याएका बताइएको छ । सो मोटरसाइकलको कागजात लिन भन्दै अर्काको मोटरसाइकलमा गएका उनी नफर्के पछि प्रहरीले निग्ररानी बढाएको थियो ।

लिफ्ट लिएको बा. ६८ प ११०९ का मोटरसाइकल धनीलाई झुक्काएर बाइक लिएर फरार भएका थिए । उनलाई प्रहरीले माघ १३ गते सिरानचोक गाउँपालिका ८ को गोपालडाँडाबाट चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (एसपी) सुरेन्द्र बहादुर गुरुङले बताए ।

प्रिहरी नियन्त्रणमा रहेका व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा लिनु अघि स्वास्थ्य जाँच अनिवार्य गराउनु पर्ने भएपनि उनलाई गोरखा अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगियो । सोही क्रममा मौका छोपेर भट्टराईले हतकडी सहित भाग्ने प्रयास गरे । प्रहरी नियन्त्रणबाट भाग्न खोजेपछि संगै रहेका प्रहरी हवल्दारले उनलाई समाउन खोज्दा उनले उल्टै प्रहरीका हातमा टोकि दिए । उनको टोकाईबाट प्रहरी हवल्दार देव्रे हातमा चोट लागेको एसपी गुरुङले जानकारी दिए ।
गत माघ ११ गते राती चोरी भएको दुईवटा मोटरसाइकल भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।