गण्डकी प्रदेशका ११ वटै जिल्लामा पशु सेवा विज्ञ केन्द्र र  कृषि ज्ञानका कार्यालय स्थापना

  • प्रकाशित मिति : January 4, 2021
  • गण्डकी डायरी

पोखरा, १९ पुस । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रका कार्यालय स्थापना गरेको छ ।

प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपन्क्षी सम्वन्धी सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने बाध्यता अन्त्य गर्दै सबै जिल्लामा कृषि र पशुपन्क्षीका कार्यालय स्थापना गरेर कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ ।

कृषि मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयहरु सबै जिल्लामा नहुँदा सेवाग्राहीले सास्ती पाएको गुनासोपछि सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ११ वटै जिल्लामा कार्यालय स्थापना गर्ने जनाएको थियो ।मन्त्रालयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मनाङ,मुस्ताङ,नवलपुर र पर्वतमा विस्तार गरेको छ ।

यसैगरी कृषि ज्ञान केन्द्रको कार्यालय कास्की, मनाङ,मुस्ताङ, नवलपुर, र बाग्लुङमा विस्तार गरिएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले आज पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बताए । विगतमा कृषि ज्ञान केन्द्र प्रदेशका छ जिल्लामा र विज्ञ केन्द्र सात जिल्लामामात्र रहेका थिए ।