बार्सिलोनाको सानदार जित, मेसीले तोडे पेलेको कीर्तिमान

  • प्रकाशित मिति : December 23, 2020
  • गण्डकी डायरी

काठमाण्डौं । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । रियल भालाडोलिडलाई ३–० ले पराजित गरेको ।

टोलीको जितका साथै यस खेल बार्सिलोनाका कप्तान मेसीका लागि विशेष बन्यो । मेसीले विश्व फुटबलका महान हस्ती पेलेको नाममा रहेको एक कीर्तिमान तोड्न सफल भएका छन् । विश्वभर एकै क्लबबाट सर्वाधिक गोल गर्ने फुटबलरको कीर्तिमान मेसीले आफ्नो नाममा दर्ज गराएका छन् ।

मंगलबार रातिको गोलसँगै मेसीले बार्सिलोनाका लागि ६४४ गोल गरेका छन् । पेलेले ब्राजिलियन क्लब सान्तोसका लागि ६४३ गोल गरी कीर्तिमान बनाएका थिए । मेसीले मंगलबार रातिको खेलमा ६५औं मिनेटमा कीर्तिमानी गोल गरेका हुन् ।

मेसीले सन् २००५ मा पहिलो पटक बार्सिलोनाका लागि गोल गरेका थिए । यस जितसँगै बार्सिलोना १४ खेलबाट २४ अंक बनाएर पाचौँ स्थानमा यथावत छ ।