गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

  • प्रकाशित मिति : December 2, 2020
  • गण्डकी डायरी

काठमाडौं, १७ मंसिर । गण्डकी प्रदेशका २ जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका–१४, नवलपरासी पूर्वका ७८ वर्षका पुरुषको मध्यविन्दु अस्पतालमा मंगलबार राति ११ : १५ बजे मृत्यु भएको छ । उनमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१४, कास्कीकी ४८ वर्षकी महिलाको बुधबार दिउँसो साढे १२ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।