प्रेम सम्बनधले इज्जत जाने भन्दै छोरीको हत्या

  • प्रकाशित मिति : November 30, 2020
  • गण्डकी डायरी

रौतहट । दुई साताअघि माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा युवतीको गोली हानी हत्या भएको घटनामा बुबाआमा नै संलग्न रहेको खुलेको छ । छोरीको प्रेम अस्वीकार गर्ने क्रममा बुबाले रकम दिएर हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले युवतीका बुबाआमालगायत ६ जनालाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

गत कात्तिक २६ गते राति लौकाहा टोलका रामअयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृताकुमारीलाई आमा सीतादेवीसँग सुतिरहेको अवस्थामा हतियारधारी समूहले दाहिने कञ्चटमा गोली हानी हत्या गरेको थियो । प्रहरीले मृतकका ५५ वर्षीय बुबा, आमा, देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया करुनियाका शेख अलियास, इस्लाम अन्सारी, शेख इम्ताज र परोहा नगरपालिका–४ का छोटेलाल साहलाई पक्राउ गरेको थियो ।

विवाहित छोरी अमृताको सम्बन्धविच्छेदपछि अर्कैसित प्रेम सम्बन्ध रहेको अभिभावकले थाहा पाएपछि इज्जतकै लागि हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए । ‘छोरीको अर्कै केटासितको प्रेम अस्वीकार गर्ने क्रममा अभिभावकले रकम दिएर छोरीको हत्या गर्न लगाएको खुलेको छ,’ उनले भने, ‘छोरी अर्कै केटासित भाग्ने र इज्जत जाने डरले हत्या गरेको रहेछ ।’

गाउँकै सोसिन्द्रप्रसाद भगतसँग अमृताको तीन वर्षदेखि प्रेम सम्बन्ध थियो । यसको जानकारी भए पनि परिवारकै दबाबमा २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका–३ का रूपेश साहसँग अमृताको मागीविवाह भएको थियो । त्यसको केही समयपछि रूपेशमाथि छुरा प्रहार गरी ज्यान मार्ने प्रयास भयो । त्यसपछि अमृता डरले माइती आएर बस्न थालिन् ।

यहीबीच २०७७ असारमा रूपेश र अमृताबीच सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेदपछि रूपेशले जिल्ला प्रहरी सर्लाहीमा अमृता र उनका प्रेमी सोसिन्द्रमाथि ज्यान मार्ने उद्योगको मुद्दा दिए । दुवैको प्रेम सम्बन्धलाई माइती पक्षले समेत स्विकारेका थिएनन् । छोडिसकेको श्रीमान्बाट मुद्दा दर्ता भएपछि छोरी पक्राउ पर्ने र इज्जत जाने भन्दै अमृताका अभिभावकमा डर पैदा हुन थाल्यो । त्यहीमाथि छोरी प्रेमीसँग भागेर जाने अर्को त्रास थपिएको बुबाआमाले प्रहरीसमक्ष बताएका छन् ।

यही कारण बुबा रामअयोध्या र अमृताका भिनाजु देवाही गोनाही नगरपालिका–२ करुनिया लक्ष्मीनियाका लक्ष्मण साह मिलेर परोहा नगरपालिका–४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ दिई अमृतालाई मार्ने योजना बुने । कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारत लैजाने र उतै हत्या गर्ने योजना बनाए पनि सफल हुन सकेन । कात्तिक २६ गते फेरि देवाही गोनाही–२ लक्ष्मीनियाका कैमुल देवानलाई १ लाख रकम दिई गोली हान्न लगाएर हत्या गरे ।

योजना मुताबिक सँगै सुतेकी आमा सीता शौचालय गएकी थिइन् । त्यही बेला हतियारधारी पसेर अमृताको कञ्चटमा गोली प्रहार गरी फरार भएका थिए । घटनापछि बुबा, आमाले गोली हानेर छोरीको हत्या गरेको भनेर नाटकीय ढंगले चिच्याएर छिमेकीहरूलाई हारगुहार गरेका थिए । एसपी शाहले पक्राउ परेकाहरूले हत्या स्विकारेको बताए । आजको कान्तिपुर दैनिकमा शिवपुरीले समाचार लेखेका छन् ।