फेसबूकबाटै १० लाख ठगी

  • प्रकाशित मिति : November 24, 2020
  • गण्डकी डायरी

स्याङ्जा। बाजुराको हिमाली गाउँपालिका–४ का २७ वर्षीय रूपचन्द्र पाण्डे र स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाबीच फेसबुकमार्फत सात महिनाअघि चिनजान भयो । विस्तारै कुराकानी बाक्लिँदै गयो । पाण्डेले आफू विदेश (ब्राजिल) मा रहेको बताए । सम्बन्ध नजिकिएसँगै पाण्डेले ती महिलालाई ब्राजिल लैजानेसमेत आश्वासन दिए ।

तर कोरोना महामारीका कारण लकडाउन भएपछि ब्राजिलमा नै रहेको आफ्नो परिवार गम्भीर बिरामी परेको भनेर ती महिलालाई बताए । परिवारको उद्धार गर्ने विषयमा सल्लाहसमेत लिन थाले । उद्धारकै लागि भन्दै पछि फिर्ता गर्ने सर्तमा पैसा मागे । पाण्डेको विश्वासमा परी ती महिलाले पनि पैसा दिइन् । ६ महिनादेखि पटक–पटक आईएमईमार्फत पैसा पठाउँदै आइन् ।

१० लाख २८ हजार ७ सय रुपैयाँ पठाइसकेपछि महिलाको मनमा चिसो पस्यो । तिहारअघि जिल्ला प्रहरीमा जाहेरी दिइन् । अनुसन्धानपछि बल्ल ती महिलालाई थाहा भयो कि पाण्डेले पैसा ठगी गरेका रहेछन् ।

पाण्डेलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनलाई आइतबार जिल्ला अदालतमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ । ‘घटनाक्रम हेर्दा पाण्डेले ठगेको देखिन्छ,’ बोगटीले भने, ‘अरू पनि ठगिएका रहेछन् ।’

महिला शिक्षिका हुन् भने उनका श्रीमान् विदेशमा छन् । बोगटीका अनुसार ‘परिवारको उपचार भइरहेको छ, अहिले पैसा आएको छैन, आएपछि सबै रकम फिर्ता गर्छु’ भन्दै पाण्डेले बारम्बार फोनमार्फत पैसा मागेपछि प्रहरीले उनी रहेको स्थान पत्ता लगाएको थियो ।

‘अन्तिममा हामीले गरगहना बेच्यौं, जम्मा ५५ हजार रुपैयाँ भयो, म आईएमई गर्दिन्छु भनेर महिलालाई भन्न सिकायौं,’ बोगटी भन्छन्, ‘उनले पनि उसै गरिन् । आईएमईमा बुझिलिनेको नाम केही बिगारेका थियौं, जसले उसलाई पैसा निकाल्न समस्या परोस् ।’ नेपालगन्ज रहेको बुझेपछि प्रहरी परिचालन गरी आईएमईबाट पैसा निकाल्ने क्रममा पक्रिन सफल भयौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।