पीसीआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित

  • प्रकाशित मिति : October 31, 2020
  • गण्डकी डायरी

तनहुँ , १५ कार्तिक । पीसीआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् ।

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको पीसीआर परीक्षण हुने भएपछि शुक्रवारदेखि शुरू आन्दोलन शनिवार स्थगित भएको हो ।

आरडीटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई काममा लगाएको भन्दै मजदुरले शुक्रवार दिउँसोदेखि आन्दोलन गरेका थिए । आफूहरूको माग बमोजिम पीसीआर परीक्षण हुने भएपछि आन्दोलन स्थगित गरिएको मजदुर मोती श्रेष्ठले जानकारी दिए ।

‘पोजिटिभ आएका मजदुरलाई आइसोलेशनमा नराखी काममा लगाएपछि विरोध गर्दै आन्दोलनमा उत्रिएका हौं,’ श्रेष्ठले भने, ‘पीसीआर परीक्षण पश्चात् काम गर्ने गरी आन्दोलन स्थगित गरेका छौं ।’

यसअघि मजदुर र निर्माण कम्पनीबीच दशैं बिदाबाट फर्किएपछि पीसीआर परीक्षण गर्ने सहमति भएको थियो । तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले ६९ मजदुरको आइतवार पीसीआर परीक्षण गरिने जानकारी दिए ।

‘दशैं बिदा सकेर ४ दिनअघि आएका मजदुरको पीसीआर परीक्षण गर्ने सहमति भएको छ,’ उनले भने, ‘नतिजा आएपछि मजदुर पुनः काममा फर्किन्छन् ।’

दशैं मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदुर दशैं बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युत् गृह निर्माणको काम सञ्चालन गरेका थिए । असोज अन्तिम हप्ता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने मागसहित मजदुरले आन्दोलन गरेका थिए ।