गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

  • प्रकाशित मिति : October 29, 2020
  • गण्डकी डायरी

पोखरा, १३ कार्तिक । पोखरामा बिहीबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–६ का कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

बुधबार कोरोना संक्रमण पुष्टि भएर चरक मेमोरियल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा ती पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई कोरोनासँगै निमोनिया, हाइपरटेन्सन र श्वास विफलताको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।

यसअघि बुधबार राति पोखरा–१३ कि कोरोना संक्रमित ३६ वर्षीया महिलाको मृत्यु भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चलल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उनको मृत्यु भएको हो ।

कात्तिक ५ गते संक्रमण पुष्टि भएकी उनी उपचारको लागि अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनलाई कोभिड–१९ सँगै निमोनिया समेत रहेको अस्पताल प्रशासनले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।