केहि बर्ष देखि बन्द रहेको गोरखा बुंकोटको एउटा बिद्यालय पुन सञ्चालनमा

  • प्रकाशित मिति : October 7, 2020
  • गण्डकी डायरी

गोरखा, २१ असोज । गारखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटमा विद्यार्थी संख्या न्यून भएर बन्द भएको मकैपुर आधारभुत विद्यालय पुन सञ्चालनमा आएको छ ।

वि.सं. २०७५ सालमा बिद्यार्थी संख्या न्युन भएकाले बन्द भएको विद्यालयमा यो वर्षको शैक्षिक सत्र देखि कक्षा २ सम्म संचालनमा आएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
सो बिद्यालयको बाल कक्षामा ८ जना, कक्षा १ मा १२ जना र २ मा चार जना विद्यार्थी भर्ना भईसकेका उनले बताए ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार गाउँपालिकाले स्थायी दरबन्दी तोकेर एक जना शिक्षक पनि पठाएकाले अहिले बिद्यालयमा सिकाई सहजिकरण भइरहेको छ । उक्त गाउँका बालवालिकाहरु अब नजिकैको विद्यालयमा पढ्न पाउने भए पछि बालबालीका तथा अभिभवाकहरु खुशी भएका छन् ।

शहिदलखन गाउँ कार्यपालिकाको बैठकले बन्द विद्यालय चालु वर्षदेखि संचालन गर्ने निर्णय गरेसँगै विद्यालय पुन संचालनमा आएको हो । विद्यालय संचालनका लागि वडा कार्यालयले बिभिन्न ब्यक्ति, संघ संस्था सँग समन्वय गरिरहेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

बुधवार गोरखा नगरपालिका वडा न‌ ३ का ब्यवशायी जिबन खड्का र नेपाल विद्यार्थी संघ गोरखाका उपाध्यक्ष शिबहरी तिमल्सिनाले किताब, कापी, लगायतका स्टेशनरी विद्यार्थीलाई सहयोग गरेको उनले बताए ।